एनआरएनएमा जेन्जि समुह,अधिवेशन सारेर प्रत्यक्ष निर्वाचन गर्न र नेतृत्व जेन्जीलाई हस्तान्तरण गर्न माग
News Desk
Mar-08 तारिख 06:37 बिहान

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दै गएको विवादका बीच एनआरएनए जेन्जी समूहले आसन्न अधिवेशन तत्काल रोक्न र संस्थामा देखिएको भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न माग गर्दै नेतृत्वलाई औपचारिक पत्र  दिएको छ।

जेन्जी समूहका प्रतिनिधिहरू दीपेश खत्री, भीमसेन थापा, नारायण समाजसेवी, मदनलगायतले संघको कार्यालयमै पुगेर अध्यक्ष डा. बद्री केसीलाई उक्त बिज्ञप्ती बुझाएका हुन्। बिज्ञप्तीमा हालको निर्वाचन प्रक्रिया अवैध र विवादास्पद भएको जनाउदै तत्काल अधिवेशन स्थगित गरी व्यापक सहमतिका साथ आगामी अक्टोबरमा प्रत्यक्ष (भौतिक) अधिवेशन गर्न माग गरिएको छ।

जेन्जी समूहले एउटै कार्यकालमा दुई अध्यक्षको अवस्था बनेको संघको वर्तमान संरचनाले संस्थाभित्र अन्योल र अविश्वास बढाएको उल्लेख गर्दै त्यसको सम्पूर्ण नैतिक तथा संस्थागत जिम्मेवारी अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठमाथि पर्ने स्पष्ट गरेको छ।

नोटिसमा अनलाइन तथा भौतिक मतदानसम्बन्धी निर्णय प्रक्रियामा देखिएको अस्पष्टता, एकपक्षीयता र ढिलासुस्तीले आगामी निर्वाचनको वैधतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। “निर्वाचन प्रक्रिया पारदर्शी र शंकामुक्त नभए त्यसबाट आउने नेतृत्व पनि कानुनी चुनौतीबाट मुक्त रहँदैन,” बिज्ञप्तीमा भनिएको छ।

जेन्जी समूहले विगतका कार्यकालमा आर्थिक निर्णय, नियुक्ति तथा विभिन्न सम्झौतामा गम्भीर अनियमितता भएको दाबी गर्दै त्यससम्बन्धी कागजात र प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि जनाएको छ। ती विषयमा अहिलेसम्म प्रभावकारी छानबिन नभएको भन्दै स्वतन्त्र र विश्वसनीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

समूहले छानबिनबाट दोषी देखिने जो–कोहीलाई पनि नछाड्ने बताएको छ ।  

संघमा अब नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको भन्दै जेन्जी समूहले संस्थामा युवा नेतृत्वमा लैजानुपर्ने धारणा पनि व्यक्त गरेको छ। प्रतिनिधिहरूले संघमा युवाको नेतृत्व नआए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्। उनिहरुले देशमा पनि युवा नेतृत्व आएकाले संस्थामा पनि युवा नेतृत्व आवस्यक भएको बताएका छन ।

जेन्जी समूहका सदस्यहरूले संस्थाभित्र भएको कथित भ्रष्टाचारको छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत विश्वभर रहेका युवा एनआरएन अभियन्ताहरूलाई समेटेर छलफल पनि अघि बढाइरहेको बताएका छन्।

जेन्जी समूहका दीपेश खत्रीले भोलिसम्म समूहले आगामी कदमबारे औपचारिक निर्णय सार्वजनिक गर्ने जानकारी दिए।
त्यस्तै नारायण समाजसेवीले संघभित्र “अति भइसकेको” टिप्पणी गर्दै अब युवाहरू भ्रष्टाचार र एकाधिकार सहेर बस्न नसक्ने बताए। “अब जेन्जीहरू चुप लागेर बस्दैनन्, संस्थालाई सही बाटोमा ल्याउन आवश्यक कदम चालिन्छ,” उनले भने।
जेन्जी समूहले दिएको बिज्ञप्तीलाई अन्तिम कानुनी चेतावनीको रूपमा लिन आग्रह गर्दै निर्धारित समयभित्र सुधारका ठोस कदम नचालिए संस्थाभित्र तथा बाहिर उपलब्ध सबै वैधानिक र सार्वजनिक माध्यम प्रयोग गर्न र बल प्रयोग गर्न बाध्य हुने जेन्जी युवाहरुले बताएका छन ।

उनिहरु संस्थामा भएको एकलौटी र मनोमानीबिरुद्द जुनै पनि तवरको आन्दोलन गर्न तयार भएको बताएका छन ।