News Desk
काठमाडौं | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार मध्यरातिसम्म भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।
गणना गरिएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४८ लाख ११ हजार मत प्राप्त गर्दै पहिलो स्थान ओगटेको छ। त्यसपछि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख १८ हजार मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेले १३ लाख ४८ हजार मत हासिल गरेको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ३२ हजार मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ४१ हजार मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख १५ हजार मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
हालसम्मको परिणामअनुसार यी छवटै दलले समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने निश्चित भएको देखिएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक प्रणालीमा करिब १ करोड १० लाख मत खसेको थियो, जसमा अब करिब १० लाख मत गणना हुन बाँकी रहेको छ।
आयोगले मंगलबार बेलुकासम्म सबै मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ। प्रत्यक्षतर्फ भने प्रतिनिधिसभाका सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ।