‘सिमित समूहको भेला नगरी वास्तविक एकता गर्न र अधिवेशन स्थगित गर्न उपाध्यक्ष राज रेग्मीको आग्रह
News Desk
Mar-10 तारिख 04:35 बेलुका

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र गहिरिँदै गएको विभाजन र अविश्वासका बीच अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष राज रेग्मीले आसन्न एकताको अधिवेशनमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सीमित समूहको उपस्थितिमा अधिवेशन गरेर नेतृत्व चयन गर्न खोजिए त्यसले एकता होइन, विभाजनलाई अझ संस्थागत बनाउने चेतावनी दिएका छन्।

विश्वभर छरिएका नेपालीहरूको साझा अभियानका रूपमा स्थापित एनआरएनए पछिल्लो समय पदीय स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र समूहगत प्रतिस्पर्धाको चपेटामा परेको भन्दै रेग्मीले संस्थाको अस्तित्व नै संकटमा परेको बताएका छन्। उनका अनुसार पछिल्ला दुई कार्यकालदेखि एनआरएनए स्पष्ट रूपमा दुई धारमा विभाजित छ र यसले संस्थालाई ‘एकता’ होइन ‘संघर्ष’को मैदान बनाएको छ।

विगतमा एकता कायम गर्ने भन्दै भएका प्रयासहरू पनि पूर्ण तयारी र व्यापक सहभागिता अभावका कारण सफल हुन नसकेको उनको भनाइ छ। “एकताको नाममा सीमित अनुहारहरूको जमघट गरेर समस्या समाधान हुँदैन,” उनले भने, “एनआरएन अभियानलाई बचाउने हो भने वास्तविक र बृहत् एकताको बाटो रोज्नुपर्छ।”

पूर्वनिर्धारित मितिअनुसार एकताको अधिवेशन हुन अब केही दिन मात्रै बाँकी रहेको अवस्थामा पनि संस्थाभित्र असहमति कायम रहेको, प्राविधिक तयारी अधुरो रहेको तथा मध्यपूर्वको वर्तमान परिस्थितिका कारण धेरै प्रतिनिधिहरू नेपाल आउन नसक्ने अवस्था रहेको उनले औँल्याएका छन्।

स्थापनाकालदेखि नै एनआरएन अभियानमा महत्वपूर्ण भूमिका खेलेको मध्यपूर्व क्षेत्रका धेरै अभियन्ताहरू सहभागी हुन नसक्ने अवस्था हुँदाहुँदै अधिवेशन अघि बढाउनु न्यायोचित नहुने रेग्मीको तर्क छ। उनले अहिलेको अवस्थामा उठेको मूल प्रश्न स्पष्ट रहेको बताएका छन् “हामी फेरि पनि एकताको नाममा सीमित व्यक्तिको मात्र भेला गर्ने कि सबैलाई समेटेर वास्तविक एकताको मार्ग रोज्ने ?”

रेग्मीले एनआरएन अभियानलाई समयानुकूल नयाँ ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिता र नेतृत्व अपरिहार्य भएको बताएका छन । नेपालमा युवापुस्ताले राजनीतिक परिवर्तनको माग गर्दै उठाएको आवाजसँग तुलना गर्दै उनले एनआरएन अभियानमा पनि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको संकेत गरेका छन्।

विभाजनका कारण कमजोर बनेको संस्थाको साख जोगाउन सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न वा सबै पक्षको सहमति र उपस्थितिलाई सुनिश्चित गर्ने गरी अधिवेशनको मिति पुनः तय गर्नुपर्ने उनको आग्रह छ।

“समूहगत भेलाबाट होइन, बृहत् एकताबाट नेतृत्व चयन हुनुपर्छ,” रेग्मीले भनेका छन्, “त्यसो भयो भने मात्र विभाजनले कोमामा पुगेको संस्थालाई पुनर्जीवित गर्न सकिन्छ।”
एनआरएनए भित्र बढ्दो विवाद र असन्तुष्टिका बीच उपाध्यक्ष रेग्मीको यो अभिव्यक्तिले आसन्न अधिवेशन र संस्थाको भविष्यबारे थप बहस र दबाब सिर्जना गर्ने देखिएको छ। 
योभन्दा पहिलेनै एनआरएनएको एकताको लागि एकता जोगाउन १२औँ महाधिवेशन सार्न उपाध्यक्ष खगेन्द्र  न्यौपानेसहित ९ उपाध्यक्ष र धेरै पदाधिकारीले माग गरिसकेका छन ।
 एनआरएनए आईसिसि भित्र १२औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पुनः निर्वाचन सारेर बृहत एकता महाधिवेशन गर्नुपर्ने आवाज सशक्त बनेको छ। उपाध्यक्ष खगेन्द्र न्यौपानेले मध्यपूर्वमा घटेको दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको मितिमा महाधिवेशन गर्नु उपयुक्त नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन ।

एनआरएनएका उपाध्यक्षहरू खगेन्द्र न्यौपाने,राज रेग्मी,केशव पौडेल,लोकप्रसाद दाहाल,रोविन प्रसाद शेरचन,मनोजकुमार श्रेष्ठ,सुनिल शाह,राम शरण सिम्खडा,बुद्दी सुवेदीसहित ९ उपाध्यक्ष र महासचिव द्वय गौरी राज जोशी/बिआर लामा,उपमहासचिव प्रविन गुरुङ,कोशाध्यक्ष ठाकुर प्रसाद ढुंगानासहित ९५% पदाधिकारीले पनि महाधिवेशन सारेर बृहत् एकतालाई यथावत राख्नुपर्ने बताएका छन ।