वायु प्रदूषण बढ्दो चिन्ता : सावधानी अपनाउन वातावरण विभागको आग्रह
News Desk
Mar-11 तारिख 05:56 बिहान

हालका दिनहरूमा मौसमी प्रतिकूल अवस्थाका कारण देशका विभिन्न क्षेत्रहरूमा वायु प्रदूषणको मात्रा बढ्दै गएको पाइएको छ। विशेषगरी काठमाडौँ, पोखरा लगायतका प्रमुख सहरहरू तथा तराईका अधिकांश स्थानमा वायुमा रहेको मसिना कण (पीएम–२.५) को स्तर उल्लेख्य रूपमा बढेको जनाइएको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वातावरण विभागले बढ्दो प्रदूषणका कारण जनस्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले सार्वजनिक गरेको अपिलमा प्रदूषणको मात्रा बढी भएको समयमा घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न तथा सवारीसाधनको नियमित मर्मतसम्भार गर्न सुझाव दिइएको छ।

यसका साथै फोहोर तथा बालीनालीका अवशेष जलाउने कार्य नगर्न र यस्तो प्रवृत्ति नियन्त्रण गर्न सबैको सक्रियता आवश्यक रहेको विभागले उल्लेख गरेको छ। वन तथा वातावरण क्षेत्रलाई सुरक्षित राख्न जंगलमा डढेलो नलगाउन र लागेमा तत्काल नियन्त्रणको प्रयास गर्न पनि आग्रह गरिएको छ।

निर्माणसम्बन्धी काम गर्दा धुलो–धुवाँ फैलिन नदिने व्यवस्था मिलाउन र उद्योग तथा कलकारखानाहरू सञ्चालन गर्दा सरकारले निर्धारण गरेका वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ।

वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायहरू र सर्वसाधारणबीच सहकार्य र सकारात्मक पहल आवश्यक रहेको विभागले जनाएको छ। सबैको साझा प्रयासबाट मात्र प्रदूषण न्यूनीकरण गर्न सकिने विभागको धारणा छ।

विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषणको मात्रा तुलनात्मक रूपमा बढी देखिन्छ। चिसो मौसमका कारण विभिन्न स्रोतबाट निस्किने प्रदूषक कणहरू आकाशमा फैलिन नसक्ने तथा लामो समयदेखि वर्षा नहुँदा यस याममा वायु प्रदूषणको समस्या झन् बढ्ने गरेको बताइएको छ।