News Desk
काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भिमसेन थापाले आगामी एकता महाधिवेशनका लागि आईसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
युरोप (पोर्चुगल)बाट सक्रिय रूपमा एनआरएन अभियानमा नेतृत्व गर्दै आएका थापाले संगठनात्मक रूपान्तरण, संस्थागत एकता, प्रत्यक्ष निर्वाचन प्रणाली र युवाको सार्थक सहभागितालाई मुख्य एजेन्डा बनाउँदै आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
पोर्चुगलमा बसोबास गर्दै आएका थापा सफल व्यवसायी तथा सक्रिय समाजसेवीका रूपमा परिचित छन्। हस्पिटालिटी, कृषि तथा निर्माण क्षेत्रमा युरोप र नेपाल दुवैतर्फ लगानी गरेका उनले प्रवासी नेपाली समुदायको हितका लागि निरन्तर काम गर्दै आएका छन्।
एनआरएनएभित्रको लामो अनुभवले उनलाई संगठनभित्रको एक प्रभावशाली युवा नेतृत्वका रूपमा स्थापित गरेको छ। उनी एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष, आईसीसी सदस्य तथा युरोप डिआरसी हुँदै हाल आईसीसी युवा संयोजकको जिम्मेवारीमा सक्रिय छन्। संस्थाको विभिन्न तहमा काम गरेको अनुभवले नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा उनलाई दक्ष नेतृत्वका रूपमा चिनाएको छ।
थापाले एनआरएनएभित्र देखिएको मतभेद र विभाजन अन्त्य गर्दै संस्थालाई फेरि एकताबद्ध बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता रहेको बताएका छन्। “देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र विभाजित हुनु हुँदैन,” भन्ने उनको स्पष्ट धारणा छ।
संस्थागत लोकतन्त्रलाई बलियो बनाउन आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्तावलाई उनले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। पारदर्शिता, सहभागिता र जवाफदेहितामा आधारित नेतृत्वले मात्र एनआरएनएलाई थप विश्वसनीय र प्रभावकारी बनाउन सक्ने उनको विश्वास छ।
युवालाई संस्थाको केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले विश्वभर रहेका युवा पेशाकर्मी, विद्यार्थी र उद्यमीहरूलाई एउटै सञ्जालमा जोडेर उनीहरूको सीप, अनुभव र सम्भावनालाई संगठन र मातृभूमिको विकासमा उपयोग गर्ने योजना अघि सारेका छन्।
सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि थापा सक्रिय देखिएका छन्। नेपालको भूकम्पपछिको कठिन घडीमा उनले सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा राहत तथा पुनर्निर्माण सहयोगमा भूमिका खेलेका थिए। त्यसैगरी कोभिड–१९ महामारीका बेला पनि उनले प्रवासबाट सहयोग संकलन गरी देशलाई साथ दिएका थिए।
थापाका अनुसार एनआरएनए पद प्राप्त गर्ने माध्यम मात्र नभई सेवा र जिम्मेवारीको साझा अभियान हो। “पदभन्दा सेवा, भाषणभन्दा काम र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिनुपर्छ,” भन्ने उनको धारणा छ।
आगामी महाधिवेशनले एनआरएनएको भावी दिशा तय गर्ने महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै थापाको उम्मेदवारीलाई युरोपमा रहेका नेपाली युवाको आवाज अन्तर्राष्ट्रिय मञ्चमा संस्थागत रूपमा स्थापित गर्ने अवसरका रूपमा पनि हेरिएको छ।
सक्रियता, स्पष्ट दृष्टिकोण र काममुखी नेतृत्व शैलीका कारण भिमसेन थापा आईसीसी युवा उपाध्यक्ष पदका लागि प्रभावकारी उम्मेदवारका रूपमा उभिएका छन्। उनले विश्वभर रहेका गैरआवासीय नेपाली तथा अभियन्ताहरूसँग साथ, समर्थन र सुझावको अपेक्षा गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्।