मध्यपूर्वको शक्ति र विश्वव्यापी समर्थनसहित एनआरएनए आईसीसी उपाध्यक्षमा प्रविन गुरुङको उम्मेदवारी दर्ता
News Desk
Mar-12 तारिख 06:21 बिहान

काठमाडौं,गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपाध्यक्ष पदमा प्रविन गुरुङले उम्मेदवारी दर्ता गरेका छन। मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक, व्यवसायी तथा पेशागत समुदायको बलियो समर्थनसहित उनको उम्मेदवारीले एनआरएन अभियानमा नयाँ ऊर्जा र व्यापक अपेक्षाको सन्देश दिएको विश्लेषण गरिएको छ।

लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायको हक–हितका लागि निरन्तर सक्रिय गुरुङ आज संस्थाभित्र परिणाममुखी, समन्वयकारी र एकतामुखी नेतृत्वका रूपमा स्थापित हुँदै आएका छन्। विशेषगरी मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधान, उद्धार तथा अधिकारको पक्षमा उनले खेलेको सक्रिय भूमिकाले उनलाई विश्वासिलो नेतृत्वका रूपमा चिनाएको छ।

एनआरएनए कतारको उपाध्यक्षबाट सुरु भएको उनको संगठनात्मक यात्रा क्रमशः मध्यपूर्व डिआरसी, क्षेत्रीय संयोजक, आईसीसी सचिव हुँदै उपमहासचिवसम्म पुगेको छ। अघिल्लो निर्वाचनमा अत्यधिक मतसहित उपमहासचिवमा निर्वाचित भएपछि उनले संस्थाभित्र कार्यसम्पादनकै आधारमा विश्वास र लोकप्रियता हासिल गरेका थिए।

उपमहासचिवको जिम्मेवारी सम्हाल्दा गुरुङले दूतावास, श्रम कूटनीति संयन्त्र तथा एनआरएनए सञ्जालबीच प्रभावकारी समन्वय गर्दै समस्यामा परेका नेपालीहरूको उद्धार, कानुनी सहजीकरण, स्वास्थ्य सहयोग तथा सामाजिक सुरक्षा अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
कोभिड–१९ महामारीको कठिन समयमा विदेशबाट अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्री नेपाल पठाउने पहल, मध्यपूर्वमा अलपत्र परेका नेपाली श्रमिकहरूको व्यवस्थापन तथा आपतकालीन राहत समन्वयमा उनले अग्रणी भूमिका खेलेका थिए। त्यसअघि महाभूकम्पपछिको राहत तथा पुनःस्थापनामा पनि प्रत्यक्ष रूपमा सक्रिय रहँदै उनले “संकटमा साथ दिने एनआरएनए” को भावनालाई व्यवहारमा उतारेका थिए।
मध्यपूर्वमा व्यवसाय र सामाजिक गतिविधिसँगै गुरुङले नेपाली कला–संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान दिएका छन्। कतारमा नेपाल आइडल तथा द भ्वाइस अफ नेपालजस्ता चर्चित सांगीतिक कार्यक्रमका ग्रान्ड फिनाले आयोजना गर्न सहयोग पुर्‍याएर उनले प्रवासी नेपाली समुदायलाई सांस्कृतिक रूपमा समेत जोड्ने काम गरेका थिए। एनआरएनए सिङ्गिङ आइडल कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न पनि उनको सक्रिय योगदान रहेको बताइन्छ।
कतार, साउदी अरब, यूएई, कुवेत, ओमान र बहराइनलगायत मध्यपूर्वका देशहरूमा रहेका नेपाली समुदायबीच गुरुङले संस्थाप्रति अपनत्वको भावना विकास गराउन महत्वपूर्ण भूमिका खेलेका छन्। श्रमिकदेखि व्यवसायी, युवा देखि पेशागत वर्गसम्मलाई एउटै साझा मञ्चमा जोड्ने उनको शैलीले मध्यपूर्वमा एनआरएनएको आधार उल्लेखनीय रूपमा विस्तार भएको मानिन्छ।

उनको उम्मेदवारीलाई मध्यपूर्व मात्र नभई एशिया–प्यासिफिक, अमेरिकाज र युरोप क्षेत्रमा रहेका नेपाली समुदायबाट समेत सकारात्मक समर्थन प्राप्त भइरहेको बताइएको छ। यसले उनको दाबेदारीलाई क्षेत्रीय सीमाभन्दा माथि उठाएर विश्वभरका गैरआवासीय नेपालीको साझा आकांक्षासँग जोडिएको उम्मेदवारीका रूपमा स्थापित गरेको छ।
संस्थाभित्र देखिएका मतभेद अन्त्य गर्दै एनआरएनएलाई फेरि एकताबद्ध र सशक्त बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको गुरुङ बताउँछन्। “देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र विभाजित हुनु हुँदैन,” भन्ने उनको स्पष्ट धारणा छ।
संस्थागत लोकतन्त्रलाई मजबुत बनाउन आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्तावलाई उनले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। पारदर्शिता, सहभागिता र जवाफदेहितामा आधारित नेतृत्वले मात्र एनआरएनएलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सक्ने उनको विश्वास छ।
भाषणभन्दा काम, पदभन्दा सेवा र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने कार्यशैलीका कारण प्रविन गुरुङ आज आईसीसी उपाध्यक्ष पदका लागि केवल उम्मेदवार मात्र नभई एनआरएनएको स्थायित्व, एकता र परिणाममुखी नेतृत्वको प्रतीकका रूपमा उभिएका छन्।

आगामी महाधिवेशनले एनआरएनएको भावी दिशा निर्धारण गर्ने सन्दर्भमा गुरुङको उम्मेदवारीलाई मध्यपूर्वसहित विश्वभर छरिएका नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ ।