समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख २० हजार ५६७ मत गणना
News Desk
Mar-12 तारिख 06:37 बिहान

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना निरन्तर जारी रहेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार हालसम्म एक करोड सात लाख २० हजार ५६७ मत गणना भइसकेको छ।

आज बिहान ३ः३० बजेसम्मको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ। सो पार्टीले ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको आयोगले जनाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४ मत पाएको छ भने नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मतसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३ मत प्राप्त गरेको छ।

अन्य दलहरूमध्ये श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत हासिल गरेको छ।

यसैगरी जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४ मत प्राप्त गरेको छ। जनमत पार्टीले हालसम्म ७८ हजार ९२७ मत ल्याएको आयोगको विवरणमा उल्लेख छ।

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जित्दै स्पष्ट बहुमततर्फ अग्रसर देखिएको छ। नेपाली कांग्रेसले १८, नेकपा (एमाले) ले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्।

निर्वाचन आयोगका अनुसार बाँकी मतगणना कार्य जारी रहेको छ र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने बताइएको छ।