News Desk
काठमाडौँ, २८ फागुन । काठमाडौँ महानगरपालिका वडा नं. १५ का बासिन्दाहरूलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्थानीय सरकार र सामुदायिक संस्थाबीच एक महत्वपूर्ण साझेदारी भएको छ। डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद् र काठमाडौँ महानगरपालिका वडा नं. १५ बीच सेवाको स्तरोन्नति र कार्यक्रम सहयोगका लागि विधिवत् "कार्यक्रम सहयोग सम्झौता" सम्पन्न भएको हो। सम्झौता पत्रमा कामपा १५ वडाका सचिब प्रमोद अधिकारी तथा परीषदका अध्यक्ष केशर बहादुर मानन्धरले हस्ताक्षर गर्नुभएको थियो ।
स्थानीय स्तरमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, प्रविधिमैत्री र सर्वसुलभ बनाउनका लागि दुई पक्षबीच यो समझदारी भएको हो। यस सम्झौताले विशेष गरी आर्थिक रूपमा विपन्न र पहुँच नभएका वडाबासीहरूका लागि स्वास्थ्य उपचारमा नयाँ ढोका खोलेको छ।
सम्झौताका मुख्य बुँदाहरूमा वडाबासीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने, समुदाय लक्षित स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने र परिषद्को हालको सेवा स्तरलाई थप आधुनिक बनाउने उल्लेख छ। वडा कार्यालय र स्वास्थ्य परिषद्बीच स्रोत-साधनको अधिकतम उपयोग र प्रशासनिक समन्वयमार्फत स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याइनेछ।
कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले यो साझेदारी वडाको स्वास्थ्य इतिहासमा एउटा महत्वपूर्ण मोड भएको बताउनुभयो। उहाँले भन्नुभयो, "हाम्रो मुख्य प्राथमिकता वडाबासीको स्वास्थ्य हो। सामुदायिक स्वास्थ्य सेवा परिषद्सँगको यो सहकार्यले वडाको समग्र स्वास्थ्य प्रोफाइल सुधार गर्न र विपन्न वर्गलाई उपचारमा विशेष सहुलियत दिन कोशेढुंगा सावित हुनेछ।"
परिषद्का प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले स्थानीय सरकारसँगको यो समन्वयले स्वास्थ्य क्षेत्रमा थप सामाजिक उत्तरदायित्व वहन गर्न ऊर्जा मिलेको बताउनुभयो। उहाँले परिषद्को सेवालाई अझ परिष्कृत गर्दै वडाबासीको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै सम्झौताको उद्देश्य र आगामी कार्यदिशाबारे प्रकाश पार्नुभयो। उहाँले अबका दिनमा वडाभित्र विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम र उपचारमा विशेष सहुलियत प्याकेजहरू तत्कालै सुरु गरिने जानकारी दिनुभयो।
त्स्तै, कामपा १५ वडाका सचिव प्रमोद अधिकारीले मन्तव्य राख्दै वडा कार्यालय स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न सधैँ तत्पर रहने बताउनुभयो।
सम्पूर्ण कार्यक्रमको सञ्चालन र सम्झौताका प्राविधिक बुँदाहरूको प्रस्तुतीकरण परिषद्का महासचिव दीपकचन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा वडा नं. १५ का जनप्रतिनिधिहरू, वडा कार्यालयका कर्मचारीहरू, परिषद् कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू तथा परिषदमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यो सम्झौतासँगै डल्लु आवास र आसपासका क्षेत्रका बासिन्दाहरूले आफ्नै दैलोमा सुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।


