News Desk
काठमाडौँ । राहदानी विभागले नयाँ प्रविधि जडानको प्रक्रियाका कारण केही समयका लागि राहदानी वितरण सेवा प्रभावित हुन सक्ने जनाएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको विभागले अन्तरिम अवधिमा सेवा एकाध दिन बन्द हुन सक्ने जानकारी दिएको हो।
विभागका अनुसार पुरानो प्रणालीलाई हटाएर नयाँ प्रणाली जडान गर्ने क्रममा सेवा अवरुद्ध हुनसक्ने अवस्था रहेको छ। यस अवधिमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म रोकिन सक्ने बताइएको छ।
त्यस्तै, विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवामा भने करिब एक सातासम्म अवरोध आउन सक्ने सूचनामा उल्लेख गरिएको छ।
नयाँ प्रणाली सञ्चालनमा आएपछि पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागले जनाएको छ। त्यसैले यस अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीले राहदानी तयार भएर जारी हुन सामान्यभन्दा बढी समय कुर्नुपर्ने सम्भावना रहेको बताइएको छ।
विभागले प्रणाली सुधार तथा आधुनिकीकरणका लागि नयाँ प्रणाली जडानको प्रक्रिया अघि बढाइरहेको जनाएको छ। आगामी करिब पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवधि सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरिएको छ। साथै, नयाँ प्रणाली कार्यान्वयनसम्बन्धी विस्तृत सूचना छिट्टै सार्वजनिक गरिने विभागले जनाएको छ।