News Desk
झापा । झापा जिल्लाको हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा हावाहुरीका कारण रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको गएराति करिब नौ बजेतिर घरमै सुतिरहेका बेला रुखले थिचेर ज्यान गएको हो।
राति वर्षासहित आएको तीव्र हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढलेर घरमाथि बजारिएको थियो। त्यसै क्रममा रुखले थिच्दा किशोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रुख ढल्दा राजवंशी परिवारको घरमा पनि क्षति पुगेको छ र घर आंशिक रूपमा भत्किएको बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।