कर्मचारी सरुवा र बढुवाका निर्णय अब पीआईएस प्रणालीमा स्वतः अद्यावधिक हुने
News Desk
Mar-14 तारिख 06:43 बिहान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखानाबीच कर्मचारी सरुवा तथा बढुवासम्बन्धी निर्णयहरू पर्सनल इन्फर्मेसन सिस्टम (पीआईएस) मा स्वतः अद्यावधिक हुने व्यवस्था लागू गर्न समझदारी भएको छ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा र राष्ट्रिय किताबखानाबीच रियल टाइम सूचना आदान–प्रदान गर्ने तथा सरुवा र बढुवासम्बन्धी निर्णयहरू स्वतः पीआईएस प्रणालीमा अद्यावधिक हुने गरी एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) विकासमार्फत सूचना साझेदारी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।

सम्झदारीपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव पार्वती शर्मा र राष्ट्रिय किताबखानाका तर्फबाट महानिर्देशक श्रवणकुमार पोखरेलले हस्ताक्षर गरेका छन्।

सम्झदारीअनुसार कर्मचारी सरुवा, बढुवा लगायत प्रशासनसम्बन्धी निर्णय प्रक्रियाका लागि आवश्यक इनपुट तथा रियल टाइम पीआईएस पहुँच राष्ट्रिय किताबखानाले उपलब्ध गराउनेछ। त्यस्तै मन्त्रालयले गरेका निर्णयहरू एपीआईमार्फत स्वतः पीआईएस प्रणालीमा अद्यावधिक हुने व्यवस्था गरिनेछ।

राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलले दुवै निकायका प्राविधिक टोलीले संयुक्त रूपमा विकास गरिरहेको कर्मचारी व्यवस्थापन प्रणाली प्रयोगमा ल्याउन यस समझदारीले मार्ग प्रशस्त गरेको बताउनुभयो।

उहाँले सार्वजनिक सेवालाई प्रविधिमा आधारित फेसलेस र पेपरलेस प्रणालीतर्फ रूपान्तरण गर्न मन्त्रालयसँगको यो सहकार्य महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।