News Desk
गोरखा । भारतीय दर्शनार्थी बोकेको इभी माइक्रोबस गोरखाको सहिदलखन गाउँपालिका–३ कान्टार क्षेत्रमा शनिबार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
मनकामनाबाट मझुवातर्फ आउँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको इभी माइक्रो सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार माइक्रोमा चालकसहित १४ जना यात्रु सवार थिए। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
दुर्घटनामा घाइते भएका अन्य ७ जनाको स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।