News Desk
काठमाडौँ – अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनले काठमाडौँ महानगरपालिकाका प्रमुख तथा चर्चित युवा नेता बालेन्द्र शाह (बालेन) को राजनीतिक उदयबारे विस्तृत रिपोर्ट प्रकाशित गरेको छ। उक्त रिपोर्टमा बालेनलाई भ्रष्टाचारविरुद्ध र्याप गीतमार्फत आवाज उठाउँदै राष्ट्रिय राजनीतिमा उदाएका युवा नेताका रूपमा चित्रण गरिएको छ।
सीएनएनकी पत्रकार रिया मोगुलले तयार पारेको उक्त समाचारमा एक दशकअघि बालेन शाहले र्याप गीतमार्फत काठमाडौँको भ्रष्टाचार, बिग्रिएको सडक अवस्था र सामाजिक असमानताबारे तीव्र आलोचना गर्ने गरेको उल्लेख गरिएको छ। त्यतिबेला सत्तामा रहेका धेरैले त्यसलाई सामान्य आवाज ठाने पनि देशका युवापुस्ताले भने त्यसलाई ध्यानपूर्वक सुनेको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार त्यतिबेला उनका गीत सुन्ने युवाहरू अहिले राजनीतिक रूपमा सक्रिय भएका छन् र हालै सम्पन्न निर्वाचनमा उनीहरूले बालेनप्रति उल्लेखनीय समर्थन देखाएका छन्। सीएनएनले ३५ वर्षीय बालेनलाई अहिले देशको नेतृत्वमा उदाएका नयाँ पुस्ताका प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
समाचारमा बालेन आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले हालको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको र यसलाई परम्परागत राजनीतिक शक्तिहरूविरुद्ध जनताको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरिएको छ।
सीएनएनले नेपालले सन् २००८ मा २३९ वर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र घोषणा गरेपछि देशमा राजनीतिक अस्थिरता देखिँदै आएको उल्लेख गरेको छ। त्यसयता नेपालमा एक दर्जनभन्दा बढी सरकार परिवर्तन भएको तथ्य पनि रिपोर्टमा समेटिएको छ।
बालेन शाहको व्यक्तिगत पृष्ठभूमिबारे उल्लेख गर्दै उनी सन् १९९० मा काठमाडौँमा जन्मिएको र उनका पिता आयुर्वेदिक चिकित्सक रहेको जनाइएको छ। उनले संरचनात्मक इन्जिनियरिङ विषयमा नेपाल र भारतबाट अध्ययन गरेका थिए।
अध्ययनकै क्रममा उनले नेपाली र्याप सङ्गीत क्षेत्रमा पहिचान बनाएका थिए। सन् २०१३ मा युट्युबमा प्रसारित “रअ बार्ज” नामक र्याप कार्यक्रममा सहभागी हुँदै उनले भ्रष्टाचार, असमानता र व्यवस्थागत समस्याबारे गीतमार्फत आवाज उठाएका थिए।
सन् २०२२ मा बालेन शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानका कारण उनले परम्परागत दलका उम्मेदवारलाई पराजित गर्दै सबैलाई आश्चर्यचकित पारेको सीएनएनले उल्लेख गरेको छ।
मेयर बनेपछि उनले अवैध संरचना हटाउने अभियान, नगरपालिकाका बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने अभ्यास तथा सांस्कृतिक सम्पदाको संरक्षणका पहलहरू अघि बढाएका थिए।
यद्यपि, उनका केही कदम र अभिव्यक्तिहरू विवादमा पनि परेका थिए। सन् २०२३ मा उनले आफ्नो कार्यकक्षमा “ग्रेटर नेपाल” नक्सा राखेपछि भारतसँग सम्बन्धित बहस चर्किएको उल्लेख गरिएको छ।
त्यसैगरी, चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको आधिकारिक नक्सालाई स्वीकार नगरेको भन्दै उनले तय भएको चीन भ्रमणसमेत रद्द गरेको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चित बनेको थियो।
सीएनएनका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा युवापुस्तामा बढ्दो असन्तुष्टि, बेरोजगारी र भ्रष्टाचारविरुद्धको आन्दोलनले नयाँ नेतृत्वको उदयमा भूमिका खेलेको छ। विश्व बैंकका तथ्यांकअनुसार नेपालमा १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर सन् २०२४ मा करिब २०.८ प्रतिशत पुगेको उल्लेख गरिएको छ।
रिपोर्टमा नेपालको अर्थतन्त्र ठूलो मात्रामा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा निर्भर रहेको र कुल गार्हस्थ उत्पादनको करिब चौथाइ हिस्सा त्यसबाट आउने तथ्य पनि समेटिएको छ।
सीएनएनले अन्त्यमा नेपालका युवापुस्तामा बालेनप्रति ठूलो अपेक्षा रहेको उल्लेख गर्दै धेरैले उनलाई परिवर्तनको प्रतीकका रूपमा हेरेको जनाएको छ। युवाहरूको भनाइ उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ कि “हामीले उहाँमाथि विश्वास गरेका छौँ, अब उहाँले जनताको विश्वास कायम राख्नुपर्छ।”