News Desk
काठमाडौँ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्षतर्फको पहिलो हुने निर्वाचित हुने प्रणाली तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा उक्त परिमाणमा मत बदर भएको हो।
आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार विगतका निर्वाचनहरूको तुलनामा यसपटक बदर मतको प्रतिशत केही घटेको देखिएको छ। विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँच दशमलव एक आठ प्रतिशत मत बदर भएको थियो।
त्यसैगरी विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा चार दशमलव नौ छ प्रतिशत मत बदर भएको थियो। त्यस्तै २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पाँच दशमलव एक पाँच प्रतिशत मत बदर भएको तथ्यांकमा उल्लेख छ।
निर्वाचन आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको औसतसँग तुलना गर्दा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा बदर मतको प्रतिशत तुलनात्मक रूपमा कम रहेको देखिएको छ।