News Desk
काठमाडौँ | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा आदर्शकुमार श्रेष्ठ मनोनित हुनुभएको छ। प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले उहाँलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गर्नुभएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई मनोनयन गरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने कानुनी व्यवस्था रहेको छ।
सिन्धुली निवासी श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ। उहाँ पेशाले कानुन व्यवसायी हुनुहुन्छ।