समानुपातिकतर्फ ११० सांसदको सूची आयोगमा, क्लष्टर मिलान प्रक्रिया सुरु
News Desk
Mar-16 तारिख 05:52 बिहान

काठमाडौँ | गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका ६ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना निर्वाचित उम्मेदवारको नामावली निर्वाचन आयोगमा पेस गरेका छन्। आयोगले ती सूचीको क्लष्टरअनुसार रुजु गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो। सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लष्टरअनुसार ५७ जना सांसदको सूची बुझाएको छ।

त्यसैगरी नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार–चार जना उम्मेदवारको नाम क्लष्टर मिलाएर पेस गरेका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूले पेस गरेका सूचीहरू क्लष्टरअनुसार मिलेको–नमिलेको जाँच गर्ने प्रक्रिया अघि बढाइएको छ।

यदि सूचीमा कुनै त्रुटि नदेखिएमा सोमबार नै निर्वाचित उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ। तर सूचीमा सुधार गर्नुपर्ने अवस्था आएमा दलहरूलाई सच्याउन अधिकतम तीन दिनसम्म समय लाग्न सक्ने बताइएको छ।