कान्ति लोकपथ अवरुद्ध, पहिरो हटाउने प्रयास जारी
News Desk
Mar-21 तारिख 07:01 बिहान

काठमाडौं | हेटौँडा जोड्ने महत्वपूर्ण सडक कान्ति लोकपथमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे क्षेत्रमा शुक्रबार परेको वर्षासँगै पहिरो झरेपछि सवारी आवतजावत बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनापछि तत्कालै सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने कार्य सुरु गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सडक खुलाउने प्रयास तीव्र पारिएको छ।

हालसम्म मानवीय क्षतिको कुनै सूचना प्राप्त नभएको जनाइएको छ। पहिरो पूर्ण रूपमा पन्छाएपछि मात्र यातायात सञ्चालनमा आउने प्रहरीले जनाएको छ। यसबीच यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।