News Desk
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली देखिएको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका केही स्थानहरू साथै बागमती र गण्डकी प्रदेशका केही भूभागमा मध्यम खालको वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो देशका अधिकांश पहाडी र हिमाली भूभागमा बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।