भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई सयभन्दा बढी यात्रुको उद्धार
News Desk
Mar-22 तारिख 06:59 बिहान

बागलुङ । लगातारको भारी हिमपातका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको सकुशल उद्धार गरिएको छ।

बागलुङ र पूर्वी रुकुमको सिमाना पर्ने पातिहाल्ने क्षेत्रमा शुक्रबार रातिदेखि परेको बाक्लो हिमपातका कारण करिब दुई सय २० भन्दा बढी यात्रु अलपत्र परेका थिए। ती यात्रुलाई सुरक्षाकर्मीको सक्रियतामा उद्धार गरिएको हो।

पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डोजर प्रयोग गरेर सडकमा थुप्रिएको हिउँ हटाउँदै यातायात सञ्चालनमा ल्याएको थियो। सडक खुलाइएसँगै फसेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

उद्धार कार्यका क्रममा सात वटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा सवार यात्रु समस्यामा परेका थिए। करिब तीन किलोमिटर सडकखण्डमा जमेको हिउँ पन्छाएर आवागमन सहज बनाइएको जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गौतमले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार शुक्रबार साँझदेखि सुरु भएको हिमपातले बिहानसम्म सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो।

यता, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङतर्फ भने यातायात आंशिक रूपमा सञ्चालनमा रहेको जानकारी दिएका छन्। काठमाडौँ, पोखरा लगायत स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान र दैलेख जाने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।