News Desk
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि कमजोर बन्दै गएको नेकपा (एमाले)बाट नेताहरू बाहिरिने क्रम जारी रहँदा धादिङका युवा नेता धुर्ब अधिकारीले पार्टी परित्याग गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा आबद्ध भएका छन्।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्षसमेत रहेका अधिकारी लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका थिए। पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उनले नयाँ विकल्पका रूपमा रास्वपा रोजेको बताएका छन्।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अधिकारीले देशमा परिवर्तनका लागि नयाँ सोच, ऊर्जा र जिम्मेवार राजनीति आवश्यक भएको बताए। उनले भने, “देशलाई सही दिशा दिन सक्ने शक्ति आवश्यक छ भन्ने महसुस गरेर यो निर्णय गरेको हुँ।”
अधिकारीको प्रवेशसँगै धादिङमा रास्वपाको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। स्थानीय स्तरमा युवाहरूको बढ्दो सहभागिताले रास्वपाप्रति आकर्षण बढिरहेको नेताहरूको भनाइ छ।
पछिल्लो समय रास्वपाले विशेषगरी युवामाझ लोकप्रियता बढाउँदै लगेको छ। धादिङमा बढ्दो जनसमर्थनले आगामी दिनमा यो पार्टी प्रभावशाली शक्तिका रूपमा स्थापित हुने संकेत देखिएको छ।