News Desk
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। आइतबार प्रधानमन्त्रीको निजी निवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
प्रतिवेदन बुझाउने क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गर्नुभएको थियो। उहाँले आयोगको टोलीलाई तोकिएको समयमै स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराएकोमा हार्दिक बधाई दिनुभयो।
प्रधानमन्त्री कार्कीले आयोगको कार्यप्रति उच्च प्रशंसा व्यक्त गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय मापदण्ड स्थापना भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार विभिन्न चुनौतीबीच पनि आयोगले दृढतापूर्वक काम गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको हो।
उहाँले भन्नुभयो, “निर्वाचन घोषणा भएदेखि नै तपाईंहरूले देखाएको मेहनत, अनुशासन र प्रतिबद्धताकै कारण आज निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सम्भव भएको हो। यसले सुशासनको आधार बलियो बनाएको छ र दिगो लोकतन्त्रका लागि महत्त्वपूर्ण योगदान पुर्याएको छ।”
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम लगायतका मन्त्री तथा उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।