News Desk
काठमाडौं । सिंहदरबारभित्रको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विशेषगरी नवनिर्वाचित संघीय सांसदहरूको शपथग्रहण तथा आगामी संसद अधिवेशनलाई केन्द्रमा राख्दै सुरक्षा तयारीबारे विस्तृत छलफल गरेको हो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा सिंहदरबारभित्रको आन्तरिक सुरक्षा, आवागमन व्यवस्थापन र आवश्यक समन्वयका विषयहरूमा ध्यान केन्द्रित गरिएको थियो।
गृहमन्त्री अर्यालले शपथग्रहण कार्यक्रमदेखि संसद अधिवेशन सञ्चालनसम्मका सबै गतिविधिलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक, सुरक्षा तथा आवश्यक स्रोत–साधनको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
सो अवसरमा प्रहरीका उच्च अधिकारीहरूले आवश्यक सुरक्षा तयारी पूरा भइसकेको जानकारी गराउँदै सबै सम्भावित जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको बताएका थिए।