नेपाली कांग्रेसको १५औँ महाधिवेशन: असोज १६-१९ मा हुने, कार्यतालिका सार्वजनिक
News Desk
Mar-26 तारिख 06:47 बिहान

काठमाडौँ |नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णयसँगै सम्पूर्ण तयारी प्रक्रिया अघि बढाइएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यस अभियानअन्तर्गत केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गरिने योजना रहेको छ।

वैशाख १ गतेदेखि महिनाभर देशका ६,७४३ वडामा सदस्यता वितरण तथा अद्यावधिक प्रक्रिया सञ्चालन गरिनेछ। सदस्यहरूले आफू आवद्ध रहेको वडाबाटै सदस्यता अद्यावधिक गर्नुपर्ने प्रावधान राखिएको छ। सोही अवधिमा वडास्तरमै एक महिने सदस्यता अभियान सञ्चालन गरिनेछ।

जिल्लास्तरमा सदस्यतासम्बन्धी उजुरीहरूको प्रारम्भिक छानबिन गरी जेठ मसान्तभित्र केन्द्रमा पठाउनुपर्नेछ भने केन्द्रले असार १५ गतेसम्म अन्तिम निर्णय गर्ने समयसीमा तोकेको छ। अद्यावधिक सदस्यहरूको अन्तिम नामावली २०८३ असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।

त्यसैगरी, केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम नामावली अधिवेशन सुरु हुनुअघि नै निर्वाचन समितिलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ, जसले अधिवेशन प्रक्रिया समयमै अघि बढाउन सहयोग गर्नेछ।

कार्यतालिकाअनुसार, भदौ २ गते वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। भदौ ७ गते गाउँ/नगर अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन गरिनेछ। साथै, असोज २ र ३ गते अन्य जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।

महाधिवेशनसँग सम्बन्धित थप कार्यक्रमहरू निर्धारण गर्नुका साथै पार्टीले कुल १६ वटा विभिन्न निर्णयहरू समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।