News Desk
काठमाडौँ |संयुक्त राष्ट्रसङ्घको आह्वान अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकको नियमित अदलीबदली गरिएको छ।
नेपाली सेनाका अनुसार, त्यहाँ कार्यरत रिपुमर्दन गण (शान्ति सेना) को सातौँ डफ्फा तथा सैनिक प्रहरी युनिटको दशौँ डफ्फालाई प्रतिस्थापन गर्न नयाँ टोली पठाइएको हो। यसअन्तर्गत श्री कालीबहादुर गणको आठौँ डफ्फा र सैनिक प्रहरी युनिटको एघारौँ डफ्फाबाट १७९ जना शान्ति सैनिक बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन।
शान्ति मिसनका लागि खटिएको नयाँ टोली क्रमशः कार्यक्षेत्रतर्फ गइरहेको नेपाली सेनाले जनाएको छ।
यसैबीच, आफ्नो कार्यकाल पूरा गरी सोही मिसनबाट २११ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किसकेका छन।
हाल केन्द्रीय अफ्रिकी गणतन्त्रमा नेपाली सेनाका कुल १,१०७ जना शान्ति सैनिक सक्रिय रूपमा शान्ति स्थापनाको जिम्मेवारी निर्वाह गरिरहेका छन।