मन्त्रिपरिषदका चार महत्वपूर्ण निर्णय: शहीदप्रति श्रद्धाञ्जलीदेखि शासकीय सुधारसम्म
News Desk
Mar-28 तारिख 06:29 बिहान

काठमाडौं । शुक्रबार बसेको नवनिर्मित मन्त्रिपरिषद् बैठकले देशको समसामयिक परिस्थिति र सुधारका विषयमा केन्द्रित चार महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले विशेषगरी भदौ २३ र २४ गते भएका आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।

त्यसैगरी, सरकारले शिक्षा मन्त्री सस्मित पोखरेललाई मन्त्रिपरिषद्को आधिकारिक प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। अब सरकारका धारणा तथा निर्णयहरू सार्वजनिक गर्ने जिम्मा उहाँले सम्हाल्ने छन्।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दमनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार यसले घटनाको निष्पक्ष छानबिन र न्यायिक प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।

यसका साथै, शासकीय सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले १०० बुँदे कार्यसूची स्वीकृत गरेको छ, जसले प्रशासनिक पारदर्शिता, सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू:
१. भदौ २३–२४ का शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने।
२. शिक्षा मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने।
३. शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची स्वीकृत गर्ने।
४. जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने।

धेरै पढिएको