समाचार संकलनमा खटिएका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति
News Desk
Mar-29 तारिख 05:55 बिहान

काठमाडौं | समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन्।

महासंघका अनुसार एमाले पार्टी कार्यालय च्यासलमा रिपोर्टिङका लागि पुगेका महासंघ उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईमाथि उत्तेजित कार्यकर्ताले लात्ती प्रहार गरी कुटपिट गरेका थिए। यस घटनालाई काठमाडौं शाखाले पुष्टि गरेको छ।

त्यस्तै, कान्तिपुर दैनिकका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले तथा प्रसुन संग्रौलामाथि फोटो खिच्ने क्रममा गालीगलौज र दुर्व्यवहार गरिएको जानकारी महासंघले दिएको छ। घटनाका क्रममा समाचार संकलनमा खटिएका अन्य सञ्चारकर्मीहरूलाई समेत कार्यकर्ताले पार्टी कार्यालय परिसरबाट लखेटेको बताइएको छ।

महासंघले पत्रकारमाथिको कुटपिट, दुर्व्यवहार र लखेट्ने कार्यलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै यसको कडा निन्दा तथा भर्त्सना गरेको छ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई सम्बन्धित राजनीतिक दलले अनुशासनात्मक कारबाही गर्नुपर्ने र सरकारका निकायले तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा, हालै भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदनलाई आधार मानी गरिएको पक्राउप्रति विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला थप प्रदर्शनको सम्भावना रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा समाचार संकलनका क्रममा सञ्चारकर्मीहरूले सुरक्षामा विशेष ध्यान दिनुपर्ने र आन्दोलनकारीहरूले प्रेसप्रति संयमता अपनाउनुपर्ने महासंघले आग्रह गरेको छ।