News Desk
काठमाडौं | नेपाली काँग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रमेश लेखकको पक्राउप्रक्रियालाई एकपक्षीय भन्दै सरकारलाई आवेगमा होइन, विधि र कानुनअनुसार अघि बढ्न आग्रह गरेको छ।
शनिबार जारी विज्ञप्तिमा काँग्रेसले भदौ २३ र २४ गतेका घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने आफ्नो अडान दोहोर्याउँदै केवल एउटा घटनालाई आधार बनाएर पक्राउ प्रक्रिया अघि बढाउनु “चयनात्मक (सेलेक्टिभ)” व्यवहार भएको आरोप लगाएको छ।
पार्टीले अनुसन्धान, अभियोजन र सम्पूर्ण न्यायिक प्रक्रिया पारदर्शी, निष्पक्ष र विधिसम्मत ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। यदि कानुनी प्रक्रियाभन्दा बाहिर गएर निर्णय गरिए देश पुनः अस्थिरतातर्फ जान सक्ने चेतावनी समेत काँग्रेसले दिएको छ।
काँग्रेसका अनुसार, भदौ २३ र २४ गते भएका घटनाको सुरुदेखि नै निष्पक्ष छानबिनको माग गर्दै आएको र दोषीमाथि कारबाही हुनुपर्ने स्पष्ट धारणा राख्दै आएको छ। घटनापछि भदौ २५ गते उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिएको र भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको जनाएको छ।
यसैगरी, हालै चैत ६ देखि ८ गतेसम्म बसेको पार्टी बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको थियो। साथै, भदौ २३ मा राज्य शक्तिको दुरुपयोग र २४ गते भएका विध्वंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न तथा पीडितलाई न्याय दिन सरकारसँग पुनः आग्रह गरिएको थियो।
तर, प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया पारदर्शी नभएको काँग्रेसको आरोप छ। सञ्चार माध्यममा आएका सूचनाअनुसार आयोगले भदौ २३ का घटनालाई प्राथमिकताका साथ समेटेको तर २४ गतेका घटनालाई पर्याप्त रूपमा समेट्न नसकेको भन्दै काँग्रेसले उक्त प्रतिवेदन अपूर्ण र एकपक्षीय भएको दाबी गरेको छ।