मलेखु–मुग्लिन सडक खण्डमा राति आवागमन तीन दिन बन्द
News Desk
Mar-31 तारिख 06:43 बिहान

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्डमा आजदेखि लगातार तीन दिनसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइने भएको छ। सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइरहेकाले चैत १९ गतेसम्म राति यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको हो।

मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका क्षेत्रमा निर्माण कार्य भइरहेको छ। यात्रुहरूले बारम्बार सवारी रोकिनुबाट भोग्नुपरेको समस्या कम गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

उक्त अवधिमा एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ। निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन रातिको समयमा सडक बन्द गरेर कामलाई तीव्रता दिने योजना रहेको सडक आयोजनाका सूचना अधिकारी सचिन मिश्रले बताए।

सडक बन्दका कारण यात्रुहरूलाई पर्न सक्ने असुविधा तथा थप जानकारीका लागि सूचना अधिकारी मिश्र (९८४९५४४६०७) र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीकसिंह (९८५५०९०१२०) सँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।