News Desk
काठमाडौँ - नेपाली कांग्रेस ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र मूल्याङ्कन तथा आगामी रणनीति तय गर्न देशभर प्रदेशस्तरीय छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकको निर्णय कार्यान्वयन गर्दै उक्त कार्यक्रम अगाडि बढाइएको हो। कार्यक्रममा देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गरिनेछ।
छलफलका क्रममा निर्वाचनको नतिजा, उम्मेदवारका अनुभव तथा पार्टीको भावी कार्यदिशाबारे विस्तृत समीक्षा गरिने जनाइएको छ। साथै, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा स्थलगत अध्ययन र विश्लेषणसमेत गरिनेछ।
उक्त कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहनेछ। कार्यक्रमको व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछ।
तालिका अनुसार चैत २३ गते विराटनगरमा हुने कोशी प्रदेशको कार्यक्रममा डा. डिला सङ्ग्रौला पन्त, चैत २५ गते जनकपुर मा हुने मधेस प्रदेशको कार्यक्रममा फरमूल्लाह मन्सुरलाई प्रतिनिधि तोकिएको छ।
त्यस्तै, चैत २७ गते पोखरामा गण्डकी प्रदेशका लागि देवराज चालिसे, चैत २९ गते दाङ मा लुम्बिनी प्रदेशका लागि योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ।
आगामी वैशाख ३ गते सुर्खेतमा हुने कर्णाली प्रदेश कार्यक्रमका लागि कर्णबहादुर बुढा र वैशाख ५ गते कैलालीमा हुने सुदूरपश्चिम प्रदेश कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई प्रतिनिधि तोकिएको छ।
यस्तै, वैशाख ७ गते हेटौँडामा हुने वाग्मती प्रदेशको कार्यक्रममा बहादुरसिंह लामालाई जिम्मेवारी दिइएको छ।
कांग्रेसले यो कार्यक्रममार्फत निर्वाचन परिणामको गहन समीक्षा गर्दै पार्टीलाई सुदृढ बनाउने, संगठन विस्तार गर्ने र आगामी राजनीतिक रणनीति तय गर्ने लक्ष्य राखेको जनाएको छ।