News Desk
काठमाडौँ - स्वयम्भूस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्को आयोजनामा दुई दिने निःशुल्क चिकित्सा शिविर सम्पन्न भएको छ । चिनियाँ परम्परागत औषधि र उपचार पद्धति (TCM) मार्फत स्थानीयलाई स्वास्थ्य लाभ पुर्याउने उद्देश्यले आयोजित उक्त शिविरबाट ४२८ जना लाभान्वित भएका छन् ।
विशेष गरी शरीरका जोर्नी दुख्ने, नसा सम्बन्धी समस्या र विभिन्न शारीरिक दुखाइ भएका बिरामीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । शिविरमा परम्परागत चिनियाँ औषधि तथा आघात विज्ञान (Traumatology), शारीरिक र म्यानुअल उपचार (Physical & Manual Therapy) एवं व्यायाम थेरापी र स्वास्थ्य शिक्षा सम्बन्धी सेवाहरू निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ ।
दुई दिनमा ४२८ को परीक्षण
तथ्याङ्क अनुसार चैत १६ गते सोमबार १८९ जना र चैत १७ गते मंगलबार २३९ जना गरी कुल ४२८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सामुदायिक स्वास्थ्य सेवा परिषद्को आयोजनामा भएको यस कार्यक्रमलाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ ले विशेष सहयोग गरेको थियो । कार्यक्रमको प्रायोजन ताइवानको 'KIA YI HUI Association' ले गरेको थियो भने 'Joy Foundation Nepal' ले सहयोगी भूमिका निर्वाह गरेको थियो ।
सचेतना र उपचारमा जोड
शिविरको उद्घाटन परिषद्का अध्यक्ष केशर बहादुर मानन्धर र ताइवानस्थित KIA YI HUI Association का अध्यक्ष ह्वाङले संयुक्त रूपमा गरेका थिए । सो अवसरमा परिषद्का मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले उपचार पद्धतिका बारेमा प्रकाश पारेका थिए ।
"आफ्नो हेरचाह आफैँ गरौँ, आफ्नो शरीरको बारेमा जानौँ" भन्ने मूल नाराका साथ सञ्चालित शिविरले समुदायमा स्वास्थ्य सचेतना फैलाउन र चिनियाँ उपचार पद्धतिको प्रवर्द्धन गर्न मद्दत पुर्याएको परिषद्का महासचिव दीपक चन्द्र गौतम ले जानकारी दिनु भयो ।कार्यक्रममा संस्थाका कार्य समिती का पदाधिकारी तथा सदस्य हरु र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।


