News Desk
काठमाडौँ l प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई देशभरका उत्पीडित तथा पछाडि पारिएका समुदायहरूको सशक्त प्रतिनिधि बन्न आह्वान गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आयोजित छलफल कार्यक्रममा उनले समानुपातिक सांसदको भूमिका केवल प्रतिनिधित्वमा सीमित नभई राष्ट्रिय मूलधार र विविध समुदायबीचको महत्वपूर्ण सेतुको रूपमा रहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले सांसदहरूलाई कार्यदिशा दिँदै भने, “तपाईँहरूको पहिलो दायित्व आफ्ना क्लस्टरका आवाजलाई सशक्त रूपमा उठाउनु हो। त्यसपछि राष्ट्रिय कानुन निर्माणमा सक्रिय भूमिका खेल्दै समग्र देशको विकासमा योगदान दिनुहोस्।” उनले प्रत्यक्ष निर्वाचित सांसदहरू क्षेत्रविशेषमा सीमित हुने भए पनि समानुपातिक सांसदहरू देशव्यापी रूपमा आफ्नो समुदायका आशा र अपेक्षाका केन्द्र भएको उल्लेख गरे।
छलफलका क्रममा केही सांसदहरूले प्रत्यक्ष र समानुपातिक प्रणालीबीच विभेद भइरहेको गुनासो गरेपछि प्रधानमन्त्रीले त्यसबारे स्पष्ट पार्दै भने, “यसलाई भेदभावको रूपमा बुझ्नु हुँदैन। हामीले छुट्टै छलफलको व्यवस्था गरेका छौँ, ताकि तपाईँहरूको क्लस्टरका समस्या गहिराइमा पुगेर सुन्न सकियोस्। यो विभेद होइन, विशिष्ट मुद्दालाई प्राथमिकतामा राख्ने प्रयास हो।”
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै समस्या समाधानका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिए। उनले उठेका विषयहरूमा निरन्तर ‘फलोअप’ हुने र आवश्यक सुझाव तथा समन्वयका लागि डिजिटल माध्यम सधैँ खुला रहने बताए।
उनका अनुसार समानुपातिक प्रणालीले संसदलाई अझ समावेशी र सन्तुलित बनाउनेछ। उनले सबै सांसदहरूलाई निर्धक्क रूपमा कानुन निर्माण र संसदीय समन्वयमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।