News Desk
काठमाडौँ l नेपालको प्रसिद्ध Annapurna Circuit पूरा गर्दै Thorong La Pass (५,४१६ मिटर) पार गर्ने विश्वकै सबैभन्दा कान्छो व्यक्ति बनेका भारतको पञ्जाब राज्य अन्तर्गत रूपनगर (रोपड) का ७ वर्षीय बालक तेगबीर सिंहलाई काठमाडौंमा सम्मान गरिएको छ।
उक्त सम्मान Himalayan Social Journey ट्रेकिङ एजेन्सीद्वारा आयोजना गरिएको हो। एजेन्सीका अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले मंगलबार काठमाडौमा सिंहलाई सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले तेगबीरको साहसिक उपलब्धिप्रति गर्व व्यक्त गर्दै भने, “यति सानो उमेरमा यस्तो कठिन हिमाली यात्रामा सफलता हासिल गर्नु आफैँमा ऐतिहासिक उपलब्धि हो। यसले नेपाल पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुर्याउँछ।”
तेगबीरले सोही ट्रेकिङ एजेन्सीको सहायतामा उक्त यात्रा पूरा गरेका थिए। उनले यसअघि दुबईका इभान क्रुश्कोभले सन् २०२५ मा ७ वर्ष १० महिनाको उमेरमा बनाएको कीर्तिमान तोडेका हुन्। हाल उनको उमेर ७ वर्ष ६ महिना रहेको छ। उनले करिब २३०–२३५ किलोमिटर लामो अन्नपूर्ण सर्किट सफलतापूर्वक पूरा गरेका हुन्।
शिवालिक पब्लिक स्कुल, रूपनगरका कक्षा ३ मा अध्ययनरत तेगबीरले अप्रिल ११ देखि यात्रा सुरु गरी अप्रिल १८ मा बिहान ९:२५ बजे थोरोङ ला पासमा पुगेका थिए। न्यून अक्सिजन, -८ डिग्री सेल्सियससम्मको चिसो तापक्रम र तीव्र हिमाली हावाबीचको यात्रा अत्यन्तै चुनौतीपूर्ण रहेको थियो।
उनी बिहान ४ बजे करिब -१३ डिग्री सेल्सियस तापक्रममा यात्रामा निस्किएका थिए। उनका पिता र दुई जना गाइडसहितको टोलीले करिब ५ घण्टा ३० मिनेटको कठिन पदयात्रा पछि पास पार गरेको थियो।
यसअघि पनि उनले सन् २०२५ जुनमा युरोपको सबैभन्दा अग्लो हिमाल Mount Elbrus ६ वर्ष ७ महिनाको उमेरमा आरोहण गरेका थिए। त्यस्तै, सन् २०२४ अगस्टमा अफ्रिकाको सबैभन्दा अग्लो हिमाल Mount Kilimanjaro आरोहण गर्ने सबैभन्दा कान्छो एसियाली बनेका थिए भने सन् २०२४ अप्रिलमा Mount Everest Base Camp पनि पुगेका थिए।
एजेन्सीका कार्यकारी निर्देशक अमृत सापकोटाका अनुसार यो ट्रेक निकै कठिन, लामो र सहनशीलता परीक्षण गर्ने खालको भए पनि उनले त्यो सफलता हासिल गरेकोमा खुशी व्यक्त गरे ।
उनी अप्रिल २२ मा आफ्नो घर फर्कने कार्यक्रम रहेको जनाइएको छ।