News Desk
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस पल कपुरले बालेन्द्र शाह नेतृत्वको सरकारले लिएको सुधारका कार्यक्रमहरू सकारात्मक रहेको बताएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटका क्रममा उनले वर्तमान सरकारले गरेका सुधारका कर्यक्रमहरूप्रति अमेरिकाले नजिकबाट नियालिरहेको बताए। कपुरले निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएका सुधारका कार्यक्रमहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक रूपमा लिएको बताए।
'हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात् गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेको छ,' कपुरको भनाइ उद्धृत अर्थमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी मन्त्री कपुरले सफल व्यापारिक सम्बन्ध र अमेरिकी इन्टरनेशनल डेभलपमेन्ट फिनान्स कर्पोरेशनजस्ता संस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिनुपर्ने उनको भनाइ छ।
भेटमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको बताएका थिए। उनले पुराना अनावश्यक कानुनहरूको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताएका थिए।
अमेरिकी लगानीकर्ता तथा गैर आवासीय नेपाली लगानीकर्ताहरूबाट विशेष गरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको उनको भनाइ छ।