गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
News Desk
Apr-23 तारिख 06:34 बिहान • आज

काठमाडौँ |गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेलगत्तै उनले सामाजिक सञ्जालमा लेखेर राजीनामा दिएको घोषणा गरेका हुन्।

पदभन्दा ठूलो कुरा नैतिकता भएको उल्लेख गर्दै उनले राजीनामा दिएको बताएका छन्। ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु’, राजीनामा दिँदै गर्दा उनले लेखेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।’

अपारदर्शी सम्पत्ति विवरण प्रस्तुत र  विवादित व्यवसायीसँगको साझेदारी रहेको तथ्य सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङ चौतर्फी आलोचना खेपिरहेका थिए। बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा शेयर रहेको तथ्य सार्वजनिक भएसँगै उनको आलोचना भएको थियो।

mahalaxmi Bank
नयाँ सरकार गठन हुँदा गत चैत १३  मा उनी गृहमन्त्री नियुक्त भएका थिए।

हेर्नुहोस् सामाजिक सञ्जालमा उनले दिएको स्पष्टीकरण- 

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। 

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

धेरै पढिएको