काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, वैकल्पिक व्यवस्थापनको तयारी
News Desk
Apr-26 तारिख 06:10 बिहान • आज

सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। यस क्रममा थापाथली (वडा नं. ११) मा रहेको बस्ती खाली गरिसकिएको छ भने वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगरमा हटाउने प्रक्रिया जारी छ।

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका अनधिकृत संरचनाहरू हटाउने तयारी भइरहेको जनाइएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति ले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा ३,४९६ घरधुरी अव्यवस्थित रूपमा बसोबास गरिरहेका थिए।

उक्त तथ्यांकअनुसार काठमाडौं महानगरपालिका भित्र २,२४५, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरपालिका मा १७ र भक्तपुर नगरपालिका मा ७७३ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन्। पछिल्ला तीन वर्षमा केही थपिएका हुनसक्ने भएकाले हाल करिब चार हजारको हाराहारीमा यस्तो बसोबास रहेको अनुमान गरिएको छ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयवासीलाई सामान सार्न तथा ढुवानी गर्न सहयोग गरेका छन्। प्रभावित बासिन्दाहरूले समेत सहयोग गरेकाले थापाथली क्षेत्र शान्तिपूर्ण रूपमा खाली गरिएको बताइएको छ।

हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य क्षेत्रका परिवारहरू पनि क्रमशः सम्पर्कमा आइरहेका छन्। सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला मा लगेर विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ।

उनीहरूको घरायसी सामान भने सुन्दरीघाट स्थित राधास्वामी सत्संग ब्यास नेपाल परिसरमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।

अब होटलमा राखिएका परिवारहरूको वास्तविक अवस्था पहिचान गर्ने प्रक्रिया सुरु गरिनेछ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं. १ स्थित सरकारी अपार्टमेन्टमा सार्ने योजना रहेको छ। त्यसपछि उनीहरूको दीर्घकालीन पुनर्वास तथा व्यवस्थापनको काम अघि बढाइने जनाइएको छ।

धेरै पढिएको