पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको २७औँ स्मृति दिवस मनाइयो
News Desk
Apr-26 तारिख 10:20 बिहान • आज

काठमाडौं, १३ वैशाख | नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारी को २७औँ स्मृति दिवस मनाइएको छ।

यस अवसरमा सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानको कार्यालयमा स्मृति सभा आयोजना गरिएको थियो। सो अवसरमा स्वर्गीय अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुका साथै मौनधारण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले निष्ठा र आदर्शका आधारमा राजनीतिक उचाइ हासिल गर्न सकिने कुरा मनमोहन अधिकारीको जीवनबाट सिक्न सकिने बताउनुभयो। उहाँले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि अधिकारी विचलित नभएको उल्लेख गर्नुहुँदै  युवापुस्तालाई अगाडि बढाउन प्रेरणादायी भूमिका खेल्नुभएको बारे स्मरण गर्नुभयो । साथै उहाँले प्रतिष्ठानको संयोजनमा प्राविधिक तथा शैक्षिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन भइरहेको जानकारी समेत दिनुभयो ।

त्यस्तै, एमाले नेता प्रदीप ज्ञवालीले मनमोहन अधिकारीले लोककल्याणकारी र जनउत्तरदायी सरकारको अभ्यास स्थापित गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले स्वर्गिय अधिकारीले महत्वपूर्ण राजनीतिक पदचिन्ह छाडेर जानुभएको  र युवानेतृत्वलाई सहज रूपमा स्वीकार गर्दै अघि बढनुभएको  बताउनु भयो ।  वर्तमान अवस्थामा लोकतान्त्रिक आन्दोलनले केही चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले एमाले पुनः सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, प्रतिष्ठानकी सचिव शान्ति अधिकारीले मनमोहन अधिकारीले नेपालमा पहिलो कम्युनिष्ट सरकारको नेतृत्व गरेको स्मरण गर्नुभयो । विश्वव्यापी रूपमा कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको परिवेशमा अधिकारीले सबल नेतृत्व प्रदान गर्नुभएको उल्लेख गर्नुहुँदै उहाँको  निष्ठावान जीवनले सबैलाई सही मार्गमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्मृति दिवसको अवसरमा प्रतिष्ठानले कविता प्रतियोगिता समेत आयोजना गर्ने कार्यक्रम रहेको जनाएको छ।

धेरै पढिएको