News Desk
काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र पछिल्ला दिनमा देखिएको आन्तरिक विवाद र नेतृत्वविरुद्धका गतिविधिका बीच अध्यक्ष भुवनसिंह गुरुङले संस्थागत विधि, पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिँदै संयमित रूपमा अघि बढिरहेको बताएका छन ।
संघभित्र केही पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेको भनिए पनि अध्यक्ष गुरुङले उक्त विषयमा आफुलाई कुनै आधिकारिक जानकारी नआएको स्पष्ट पारे । उनले यस्तो संवेदनशील अवस्थामा हल्लाका आधारमा निर्णय वा निष्कर्षमा पुग्नु उपयुक्त नहुने बताएका छन्।
उनका अनुसार, “केही साथीहरूले राजीनामा गर्न खोजेको हुन सक्छ, तर अहिलेको अवस्थामा संस्थालाई कमजोर बनाउने कुनै पनि कदम उचित हुँदैन,” भन्ने धारणा उनले सार्वजनिक गरेका छन । गुरुङले अहिले व्यवसायीहरू विभिन्न समस्याको मारमा परेकाले सबैको ध्यान समाधानमा केन्द्रित हुनुपर्ने बताए।
सामूहिक राजीनामा दिएको दाबी गरिएका पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष सुजीत कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, महासचिव महेश कुमार बस्नेत, सचिव कुञ्ज दोर्जे डिमडुङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमाल गुरुङ, रमेश खड्का र देवी प्रसाद गिरी रहेका छन ।
तर अध्यक्ष गुरुङले यी गतिविधि संस्थागत प्रक्रियाभन्दा बाहिर गएर गरिएको संकेत गर्दै असन्तुष्टि भए प्रत्यक्ष रूपमा नेतृत्वसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन्। “व्यवसायीहरूको मतको दुरुपयोग गर्दै संस्थालाई अस्थिर बनाउने प्रयास दुखद छ,” उनले भने।
यसैबीच महासचिव महेश कुमार बस्नेतले केही कार्यसमिति सदस्यहरूको हस्ताक्षरसहित अध्यक्ष गुरुङसँग स्पष्टीकरण माग गर्दै सार्वजनिक पत्र जारी गरेपछि संघभित्र विवाद थप चर्किएको हो।
सोही घटनापछि बहुमत कार्यसमितिको बैठकले बस्नेतसँग तीन दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण माग गर्ने र अनुशासनात्मक कारबाही स्वरूप निलम्बन गर्ने निर्णय गरेको थियो । नेतृत्व पक्षका अनुसार यो निर्णय संघभित्र अनुशासन कायम राख्ने, संस्थागत प्रक्रिया सुदृढ गर्ने र सुधार अभियानलाई अवरोधमुक्त बनाउने उद्देश्यले गरिएको हो।
अध्यक्ष पक्षले महासचिवको गतिविधिलाई विधानविपरीत, गैरसंस्थागत र सीमित समूहको स्वार्थबाट प्रेरित भएको ठहर गरेको छ। संघका अनुसार आधिकारिक लेटरप्याड अध्यक्षको सहमति नलिई दुरुप्रयोग गरी नेतृत्वविरुद्ध सार्वजनिक आरोप लगाइनु संस्थागत मर्यादाविपरीत हो।
अध्यक्ष भुवनसिंह गुरुङले “सार्वजनिक सूचना तथा विशेष अपिल” जारी गर्दै संघविरुद्ध फैलाइएका आरोप, अफवाह र भ्रामक सूचनाहरू पूर्णतः निराधार र योजनाबद्ध भएको बताएका छन्।
उनले सबै व्यवसायीलाई एकताबद्ध रहन आग्रह गर्दै भनेका छन्, “संघका सबै निर्णयहरू बहुमत कार्यसमिति र संस्थागत सहमतिका आधारमा पारदर्शी रूपमा भइरहेका छन्। व्यक्तिगत वा बाह्य दबाबको कुनै प्रभाव पर्दैन।”
गुरुङका अनुसार हालको कार्यसमिति वैधानिक रूपमा बहुमतसहित सक्रिय रहेको छ र व्यवसायीहरूको हक–हित संरक्षण, पारदर्शिता अभिवृद्धि तथा प्रणालीगत सुधारमा निरन्तर काम भइरहेको छ। उनले सरकारसँग सहकार्य गर्दै वैदेशिक रोजगार क्षेत्र सुधारका लागि कार्ययोजना समेत अघि बढाइसकिएको जानकारी दिए।
अध्यक्ष गुरुङले संघभित्र अनुशासन कायम राख्दै गलत गर्ने जो–कोहीमाथि विधानअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्। उनले संस्थालाई व्यक्तिगत स्वार्थ वा समूहगत प्रभावबाट मुक्त राख्नुपर्ने आवश्यकता औंल्याउँदै अहिलेको मुख्य प्राथमिकता व्यवसायी एकता र संस्थागत सुदृढीकरण रहेको बताए।
यसैबीच वरिष्ठ व्यवसायी अख्तर हुसेनले पनि महासचिव बस्नेतको कदमप्रति आपत्ति जनाउँदै अध्यक्षको निर्देशन विपरीत पत्राचार र बैठक बोलाउने कार्यले संस्थागत अनुशासन कमजोर बनाउने टिप्पणी गरेका छन्।
संघभित्र देखिएको पछिल्लो विवाद र अस्थिरताको प्रयासका बीच अध्यक्ष भुवनसिंह गुरुङ संयमित र संस्थागत प्रक्रियामा अडिग देखिएका छन्। उनले एकता, पारदर्शिता र व्यवसायी हितलाई नै आफ्नो नेतृत्वको मूल प्राथमिकता रहेको स्पष्ट सन्देश दिएका छन्। उनले ब्याबसायीलाई सम्यमित हुन आग्रह गरेका छन । अहिलेको अवस्थामा एकताको बिकल्प नभएको गुरुङले बताए ।