News Desk
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउँदै कमलादेवी पन्तलाई नयाँ नेताको रूपमा मनोनयन गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार उक्त निर्णय गरेका हुन्। यससँगै प्रतिनिधिसभा तर्फ पनि विभिन्न पदहरूमा नयाँ जिम्मेवारी तोकिएको छ।
निर्णयअनुसार प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ। पार्टीभित्र प्रभावकारी समन्वय, संसदीय गतिविधिको सुदृढीकरण तथा नेतृत्वको पुनर्संरचनालाई लक्षित गर्दै यी निर्णयहरू गरिएको जनाइएको छ।
कांग्रेसले सार्वजनिक गरेको प्रेस नोटमा दलको विधानको धारा १२ (२), धारा ७ (१), धारा १३ (२) र धारा १३ (३) अनुसार उक्त मनोनयनहरू गरिएको उल्लेख गरिएको छ। नयाँ जिम्मेवारी पाएका नेताहरूले संसदीय कामकारबाहीलाई थप प्रभावकारी बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ।