देशभर मौसम बदली : वर्षा, चट्याङ र हिमपातको सम्भावना
News Desk
Apr-30 तारिख 06:42 बिहान • आज

काठमाडौं | देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली सक्रिय रहेको छ। यसको असरका कारण अधिकांश स्थानमा मौसम बदली भई व्यापक रुपमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत वर्षाको गतिविधि देखिएको छ।

आज दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। विशेषगरी कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा साथै अन्य क्षेत्रका केही स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।