News Desk
काठमाडौं, वैशाख १८ गते । गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बाबु बस्नेत नियुक्त हुनुभएको छ। संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी ले शुक्रबार उहाँलाई उक्त पदमा नियुक्त गर्नुभएको हो।
गोरखापत्र दैनिकमा करिब २१ वर्षपछि प्रधान सम्पादक नियुक्त गरिएको हो। यसअघि वि.सं. २०६२ पुस १३ गते उद्धवदेव उपाध्याय सो पदमा नियुक्त हुनुभएको थियो। त्यसयता संस्थानमा निमित्त प्रधान सम्पादकमार्फत जिम्मेवारी सञ्चालन हुँदै आएको थियो।
प्रबन्ध सम्पादक तह १० बाट ११ मा पदोन्नति भएपछि बस्नेत निमित्त प्रधान सम्पादकबाट प्रधान सम्पादकमा नियुक्त हुनुभएको हो। अध्यक्ष भण्डारीद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०८२ को विनियम ४४ को उपविनियम (२) बमोजिम मिति २०८३ वैशाख १८ गतेदेखि लागू हुने गरी बढीमा दुई वर्षका लागि नियुक्त गरिएको उल्लेख गरिएको छ।
नवनियुक्त प्रधान सम्पादक बस्नेतलाई बधाई दिँदै अध्यक्ष भण्डारीले उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले बस्नेतको नियुक्तिलाई गोरखापत्रको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो।
वि.सं. २०५० सालमा उपसम्पादकका रूपमा गोरखापत्रमा प्रवेश गर्नुभएका बस्नेतले सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र निमित्त प्रधान सम्पादकजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँले गोरखापत्रको अर्थ ब्युरो प्रमुख, प्रमुख समाचारदाता तथा ‘मुना’ मासिकको सम्पादकका रूपमा समेत काम गर्नुभएको अनुभव छ।
तीन दशकभन्दा लामो पत्रकारिता अनुभव भएका बस्नेतले त्रिभुवन विश्वविद्यालय बाट आमसञ्चार तथा पत्रकारितामा एमफिल, पूर्वाञ्चल विश्वविद्यालय बाट स्नातकोत्तर तथा इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन, नयाँ दिल्लीबाट आमसञ्चारमा डिप्लोमा हासिल गर्नुभएको छ। साथै उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन पूरा गर्नुभएको छ।
अर्थ नीति तथा विकास पत्रकारितामा विशेष दख्खल राख्ने बस्नेतले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा अध्यापनसमेत गर्नुभएको छ। उहाँले नेपाल प्रेस इन्स्टिच्युट, नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ लगायत संस्थाहरूमा प्रशिक्षकका रूपमा योगदान दिनुभएको छ।
हाल उहाँ सम्पादक समाज नेपालको उपाध्यक्ष, नेपाल पत्रकार महासंघका निरन्तर सदस्य तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ। पत्रकारितामा प्रवेश गर्नुअघि विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएका बस्नेत वि.सं. २०४५–४६ को प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा सहभागी भई पाँच महिना बन्दी जीवनसमेत बिताउनुभएको थियो।
अन्तर्राष्ट्रिय अनुभवका रूपमा उहाँले भारत, अमेरिका, चीन, जापानलगायत मुलुकमा अध्ययन, भ्रमण र तालिमको अवसर प्राप्त गर्नुभएको छ। १२५ वर्षभन्दा पुरानो विरासत बोकेको गोरखापत्र दैनिकको नेतृत्व अब उहाँका काँधमा आएको छ।