पीएनओ अभियानमा नयाँ नेतृत्व: कुमार कार्कीलाई एनआरएनएको जिम्मेवारी
News Desk
May-02 तारिख 11:55 बिहान • आज

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘पिपुल अफ नेपाली ओरिजिन’ (पीएनओ) अभियानलाई थप प्रभावकारी बनाउन नयाँ नेतृत्व तोकेको छ । एनआरएनएका अध्यक्ष हेमराज शर्माले ११४औँ आईसीसी बैठकमार्फत थाईल्याण्डका कुमार कार्कीलाई पीएनओको अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्।

लामो समयदेखि पीएनओ अभियानमा सक्रिय रहँदै आएका कार्कीले अब विश्वभर फैलिएका नेपाली मूलका समुदायलाई एकीकृत गर्दै संस्थागत रूपमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। पीएनओ विशेषगरी म्यानमार, थाइल्यान्ड, मलेसिया, फिजी लगायत सार्क बाहिरका देशहरूमा बसोबास गर्ने नेपाली मूलका विदेशी नागरिकहरूलाई एनआरएनएसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियान हो।

इतिहासका विभिन्न कालखण्ड विशेषतः प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको समयमा नेपालबाट बाहिरिएका नेपालीहरूको सन्तान नै आजका पीएनओ हुन्। त्यतिबेला औपचारिक नागरिकता प्रणाली स्पष्ट नहुँदा उनीहरू आफ्नो पहिचानबाट वञ्चित हुन पुगेका थिए। यही पृष्ठभूमिमा एनआरएनएले पीएनओ अभियान सुरु गर्दै उनीहरूलाई संस्थागत छातामुनि ल्याउने पहल गरेको हो।

थाइल्यान्डस्थित नेपाली समुदायमा सक्रिय कार्की थाई नेपाली संघका पूर्वअध्यक्ष समेत हुन । सन् २०१७ देखि निरन्तर रूपमा पीएनओ अभियानमा योगदान दिँदै आएका उनी व्यवसायिक रूपमा पनि सफल उद्यमीका रूपमा परिचित छन्। सामाजिक तथा प्रवासी नेपालीका हितमा उनको सक्रियताले उनलाई यस जिम्मेवारीका लागि उपयुक्त नेतृत्वका रूपमा स्थापित गरेको छ।

एनआरएनएको यो निर्णयसँगै विश्वभर रहेका नेपाली मूलका समुदायलाई थप संगठित, पहिचानयुक्त र सशक्त बनाउने अपेक्षा गरिएको छ।

धेरै पढिएको