घर भत्काउँदा समस्यामा परेका विद्यार्थीलाई वेदव्यास र महर्षि स्कूलले निःशुल्क पढाउने
News Desk
May-05 तारिख 01:46 बेलुका • आज

काठमाडौँ, २२ बैशाख । काठमाडौँको सामाखुशी चोकमा सञ्चालित वेदव्यास स्कूलले सरकारले घरटहरा भत्काउने क्रममा असुविधा परेका विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । 

विद्यालयले आज एक सूचना जारी गरी सरकारद्धारा काठमाडौँको विभिन्न ठाउँको घर टहरा भत्काउने क्रममा असुविधामा परेका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क भर्ना तथा पठनपाठनको व्यवस्था मिलाउन लागेको हो ।

स्कूलका प्राचार्य ओमकार लम्सालले कुनैपनि विद्यार्थी पठनपाठनबाट वञ्चित हुन नपरोस् भनेर उक्त व्यवस्था गरिएको जानकारी दिनुभयो । कुनैपनि विद्यार्थीले भर्ना गर्न वा पढ्न चाहेमा ०१४९८८१६२ वा ९८४१३०१५२२ नम्बरमा सम्पर्क गर्न सक्ने सो विद्यालयले जनाएको छ ।

महर्षि स्कुलले पनि निःशुल्क पढाउने

यसैगरी, राज्यद्वारा काठमाडौँका विभिन्न स्थानमा रहेका घर टहराहरू हटाउने क्रममा प्रभावित भएका विद्यार्थीका लागि महर्षि स्कुलले पनि निःशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ । 

पछिल्लो समय काठमाडौँका विभिन्न ठाउँमा घर टहरा भत्काउँदा धेरै परिवारहरू विस्थापित भएका छन् । यस कार्यबाट बालबालिकाको पठनपाठनमा गम्भीर असर पुगेको महसुस गर्दै विद्यालयले मानवीय सहयोगस्वरुप यस्तो घोषणा गरेको हो विद्यालयका प्राचार्य निर्मल पौडेलले जानकारी दिनुभयो । 

महर्षिले घर टहरा भत्काइएका कारण असुविधामा परेका सम्पूर्ण विद्यार्थीलाई विद्यालयमा निःशुल्क भर्ना गरी अध्यापन गराउने जानकारी दिएको हो ।  समस्यामा परेका विद्यार्थी तथा अभिभावकलाई यथासिघ्र विद्यालय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अप्ठ्यारोमा परेका बालबालिकाको शिक्षा सुनिश्चित गर्न यस्तो निर्णय लिइएको विद्यालयले जनाएको छ । 

कुनैपनि विद्यार्थीले भर्ना गर्न वा पढ्न चाहेमा ९८५११९२१४२ वा ९८४१००३२२१ नम्बरमा सम्पर्क गर्न सक्ने सो विद्यालयले जनाएको छ ।

धेरै पढिएको