News Desk
उपकुलपति छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै चालीस वर्ष उमेर पूरा गरेका, मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका तथा हाल कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेका प्राज्ञिक व्यक्तिलाई १० दिनभित्र दरखास्त दिन आग्रह गरेको छ ।
कार्यविधिअनुसार आवेदकले सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा आफ्नो लेख–रचनामा बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको स्वघोषणापत्रसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
‘सार्वजनिक पदाधिकारीहरुको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३’ को व्यवस्था अनुसार खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न नयाँ कार्यविधि लागू गरिएको जनाइएको छ ।
सूचनाअनुसार Tribhuvan University, Purbanchal University, Pokhara University, Lumbini Buddhist University, Agriculture and Forestry University, Mid-West University, Far Western University तथा Rajarshi Janak University का रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको छ ।
उम्मेदवारसँग कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव, शैक्षिक नेतृत्व र व्यवस्थापनमा उत्कृष्ट क्षमता तथा उच्च नैतिक चरित्र हुनुपर्ने मापदण्ड तय गरिएको छ । साथै, सार्वजनिक पद धारण गर्न कानुनी रूपमा अयोग्य नभएको, नेपाली नागरिक भएको तथा आवेदन दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।
विशेषगरी Lumbini Buddhist University र Agriculture and Forestry University का उपकुलपतिका लागि सम्बन्धित विषयमै विद्यावारिधि हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
आवेदकले आफ्नो सोचपत्र (भिजन पेपर) र विश्वविद्यालय विकाससम्बन्धी रणनीतिक कार्ययोजना पेश गर्नुपर्नेछ । प्राप्त आवेदनमध्ये १० जनाको छोटो सूची (सर्टलिस्ट) तयार गरिनेछ । सोचपत्र र कार्ययोजनाको मूल्याङ्कन एकभन्दा बढी विज्ञमार्फत गराइने व्यवस्था गरिएको छ ।
मूल्याङ्कनपछि गोप्यरूपमा अभिलेखीकरण गरिने र त्यसपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा कुल १०० पूर्णाङ्कमा मूल्याङ्कन गरी अन्तिम सिफारिस गरिने जनाइएको छ । एउटै उम्मेदवारले बढीमा दुई विश्वविद्यालयका लागि आवेदन दिन सक्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ ।