News Desk
काठमाडौँ l काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्डको कार्यान्वयन तथा ट्राफिक नियम पालनाको अवस्थाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ।
यात्रुको सुरक्षा सुनिश्चित गर्ने, सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित बुधबारदेखि नियमित छड्के निरीक्षण थालिएको ट्राफिक प्रहरीले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार सार्वजनिक यातायातमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसिटिभी क्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकरणको अवस्थाबारे विशेष रूपमा अनुगमन भइरहेको छ। साथै सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु राखिएको अवस्था तथा ट्राफिक नियम पालनाको विषयमा समेत निगरानी बढाइएको उहाँले बताउनुभयो।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै सरकारले तोकेका मापदण्डअनुसार सुरक्षा उपकरण जडान नगर्ने तथा सवारीसाधन व्यवस्थित नराख्नेविरुद्ध आवश्यक कारबाही गरिने चेतावनी दिनुभयो।
अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमार्फत उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा चालकहरूले लेन अनुशासन पालना गरे–नगरेको, तोकिएको स्थानमै यात्रु चढाउने–ओराल्ने गरिएको अवस्था, मोबाइल प्रयोग गरेर सवारी चलाइएको तथा गति नियन्त्रणको अवस्थाबारे समेत निगरानी गरिएको जनाइएको छ।
पछिल्लो समय सार्वजनिक यातायातप्रति यात्रुको गुनासो बढ्दै जानु, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहनु तथा सुरक्षा उपकरणको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालयका अनुसार आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहनेछ।