प्रधानमन्त्रीको अनुपस्थितिले प्रभावित प्रतिनिधिसभा बैठक आज पुनः बस्ने
News Desk
May-14 तारिख 06:25 बिहान • आज

 

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ। बुधबार तीन पटकसम्म बसेर स्थगित गरिएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिने कार्यसूची रहेको छ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ।

प्रधानमन्त्री शाह संसद्प्रति जिम्मेवार नदेखिएको भन्दै विपक्षी दलहरूले बुधबारको बैठकमा कडा विरोध जनाएका थिए। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिन प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभा अवरुद्ध बनेको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पनि प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको विषयलाई लिएर उनको व्यापक आलोचना भइरहेको छ।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण बुधबार नै पारित गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रम प्रभावित बनेको छ। संसद्को कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकाएर निर्णयार्थ प्रस्तुत गर्ने तयारी भए पनि बैठक अवरुद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेन।

बुधबार शून्य समयसम्म मात्रै बैठक नियमित रूपमा सञ्चालन भएको थियो। सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने समय दिएलगत्तै विपक्षी सांसदहरूले उठेर नाराबाजी गरेका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अनुपस्थितिलाई गम्भीर विषय बनाउँदै बैठक नै अवरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने माग राखेको थियो।