News Desk
सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेपछि संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरिएको हो ।
नयाँ संरचनाअनुसार केही मन्त्रालयलाई यथावत् राखिएको छ भने केही मन्त्रालय एकआपसमा गाभिएका छन् । साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई नयाँ मन्त्रालयका रूपमा स्थापना गरिएको छ ।
सिंहदरबारभित्र अहिले मन्त्रालयका साइनबोर्ड परिवर्तन, कोठा व्यवस्थापन तथा प्रशासनिक संरचना मिलाउने काम भइरहेको छ । यद्यपि, खर्च कटौती र मितव्ययितालाई ध्यानमा राख्दै पुरानै मन्त्रालयमा प्रयोग भएका फर्निचर, उपकरण तथा लेटरप्याडलाई नै निरन्तरता दिने तयारी गरिएको छ ।
पुनर्संरचनापछि साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय तथा सहरी विकास मन्त्रालयका भवन खाली भएका छन् । ती मन्त्रालयमध्ये केही अन्य मन्त्रालयमा गाभिएका छन् भने केहीको नाम तथा कार्यक्षेत्र परिवर्तन गरिएको छ ।
सरकारले प्रशासनिक खर्च घटाउने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा मन्त्रालयबीचको समन्वय सुधार गर्ने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको जनाएको छ ।