नेपालमा एआई र साइबर सुरक्षा शिक्षाको नयाँ अध्याय, टेकपाइलाद्वारा अन्तर्राष्ट्रिय कोर्स शुभारम्भ
News Desk
May-16 तारिख 12:42 बेलुका • आज

 

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने उद्देश्यसहित एआई, साइबर सुरक्षा र डाटा साइन्ससम्बन्धी अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ।

Techpaila Innovation ले NCC Education UK सँगको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै विश्वस्तरीय कोर्स सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार यी कोर्सहरूले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धात्मक बजारका लागि तयार बनाउनेछन्। साथै, कार्यक्रमअन्तर्गत प्रदान गरिने प्रमाणपत्र ५० भन्दा बढी देशमा मान्यता प्राप्त हुने भएकाले विदेशमा उच्च शिक्षाको अवसरसमेत सहज हुने अपेक्षा गरिएको छ।

टेकपाइलाले शैक्षिक संस्थाहरूलाई अतिरिक्त लगानीबिनै कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरेको जनाएको छ। संस्थाले विद्यालयहरूमा प्रमाणित प्रशिक्षक तथा आधुनिक डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) समेत उपलब्ध गराउनेछ।

कार्यक्रममा बोल्दै टेकपाइलाका अध्यक्ष राजेन्द्र मल्लले नेपाललाई दक्षिण एशियाकै प्रमुख आईटी हब बनाउन सकिने सम्भावना रहेको बताए। उनले आईटी तथा एआई शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार पछिल्ला तीन वर्षमा नेपालमा आईटी तथा एआई सेवा क्षेत्रको कारोबार दोब्बर भएको छ। सन् २०२३ मा करिब ७० अर्ब रुपैयाँ बराबर रहेको बजार अहिले १ सय ४० अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए।

अध्यक्ष मल्लले सूचना प्रविधि क्षेत्र जलविद्युत्भन्दा छिटो आर्थिक प्रतिफल दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न यस्ता शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले एआई र आईटी शिक्षा शहरी क्षेत्रमै सीमित नराखी ग्रामीण तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।