News Desk
काठमाडौँ । गगनकुमार थापा ले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बाहिर रहेका नेताहरूलाई पनि पार्टीको नेतृत्व संरचनाभित्र समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल पार्टी संरचनाभित्र समावेश नभएका नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिने बताउनुभयो ।
उहाँले पार्टीभित्र अवसर वितरण गर्दा को विशेष महाधिवेशनबाट आएको हो वा होइन भन्ने आधार नबनाइने स्पष्ट पार्नुभयो । “योग्यता, योगदान र आवश्यकताको आधारमा सबैलाई साथ लिएर अघि बढ्न चाहन्छु,” उहाँको भनाइ थियो ।
सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशनको तयारी सुरु भइसकेको जानकारी दिँदै प्रेमबहादुर खड्का को अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको उल्लेख गर्नुभयो । आवश्यकता अनुसार समितिमा अन्य नेताहरूलाई पनि समेट्न सकिने उहाँले बताउनुभयो ।
त्यसैगरी, महामन्त्री प्रदीप पौडेल को नेतृत्वमा सदस्यता जाँचबुझ समिति गठन भएको र त्यसमा पनि थप सदस्य राख्न आफू सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो । अनुशासन समितिको नेतृत्व तारामान गुरुङ ले गरिरहेको उल्लेख गर्दै त्यसलाई पनि थप समावेशी बनाइने संकेत गर्नुभयो ।
सभापति थापाले देशभरका क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै पार्टीलाई सुदृढ र व्यवस्थित बनाउन सबैको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गर्नुभयो । ठूलो जनसमर्थनसहित गठन भएको वर्तमान सरकार छोटो समयमै प्रश्नको घेरामा पर्नु चिन्ताजनक रहेको उहाँले बताउनुभयो ।
उहाँले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धानजस्ता संवेदनशील निकायलाई प्रधानमन्त्री केन्द्रित नबनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी ले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा अनुभवी संविधानविद्को नेतृत्वमा सुझाव आयोग गठन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधानबारे राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गर्दै सबै राजनीतिक पक्षको सहभागितामा सुधारको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रजातान्त्रिक विचार समाज का अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिज्ञ शम्भुराम सिंंखडा, पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, डा केदारनरसिंह केसी, हरिहर दाहाल, सीताराम केसी, शेरबहादुर केसी, शिव लम्साल, गोकर्ण अर्याल तथा डा वासुदेव भण्डारीलगायतले समसामयिक राजनीति र नेपाली कांग्रेसको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो ।