News Desk
काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बास क्षेत्रमा थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न कूटनीतिक पहल निरन्तर जारी रहेको जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा इरानको किश्म टापुमा अवैध सामान ओसारपसार तथा तस्करीको आरोपमा पक्राउ परेका झाविरुद्धको मुद्दा इरानी अदालतमा विचाराधीन रहेकाले उपलब्ध सबै कूटनीतिक र कानुनी माध्यममार्फत निष्पक्ष सुनुवाइका लागि प्रयास भइरहेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार उक्त मुद्दाको फैसला इरानको कानुनअनुसार हुने भएकाले कानुनी प्रक्रियालाई सहजीकरण गर्न आवश्यक पहल जारी राखिएको छ । साथै, झा अझै थुनामै रहेका बेला उहाँ रिहा भएको भन्ने अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न भ्रमप्रति मन्त्रालयले क्षमायाचना पनि गरेको छ ।
इरान र अमेरिका–इजरायलबीच तनाव सुरु हुनुभन्दा करिब एक महिनाअघि, सन् २०२६ फेब्रुअरी २८ भन्दा पहिले, झासहित अन्य छ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले किश्म टापुबाट नियन्त्रणमा लिएका थिए ।
गत अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूतले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको जानकारी पठाउनुभएको थियो । सोही सूचनाका आधारमा मन्त्रालयले उहाँ जेलमुक्त भएको उल्लेख गरेको जनाएको छ ।
यस विषयमा Shishir Khanal ले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्नुभएको थियो । साथै, नेपाली राजदूतावास दोहालाई झाको रिहाइसम्बन्धी लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले झाको परिवारसँगको भेटमा पनि वास्तविक अवस्थाबारे जानकारी गराइएको स्पष्ट गर्दै हाल उहाँलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढिरहेको जनाएको छ । साथै, झासम्बन्धी मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएकाले मुद्दा अझै विचाराधीन अवस्थामै रहेको उल्लेख गरिएको छ ।