दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान गर्न अदालतबाट तीन दिन म्याद थप
News Desk
May-20 तारिख 05:38 बिहान • आज

 

वीरगञ्ज । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गाप्रसाद प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि अदालतले म्याद थप गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रसाईंलाई सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट ‘जरुरी पक्राउ पुर्जी’का आधारमा नियन्त्रणमा लिइएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारित अभिव्यक्तिका कारण सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा असर पुग्ने अवस्था देखिएको भन्दै प्रसाईंलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रसाईंले दिएको अभिव्यक्तिले विभिन्न जातजाति तथा समुदायबीचको सद्भावमा खलल पुर्‍याउने, घृणा र द्वेष फैलाउने तथा नेपाल सरकारप्रति अवहेलना हुने प्रकृतिका सामग्री सार्वजनिक गरेको आरोप लगाइएको छ ।

प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएपछि घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

ताजा समाचार